काठमाडौं । माझी चलचित्रकर्मी सङ्घको आयोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालित सात दिने छायाङ्कन (सिनेमाटोग्राफी) कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
माझी समुदायको कला, संस्कृति र इतिहासलाई डिजिटल दस्तावेजीकरण गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको तालिम मङ्गलवार सम्पन्न भएको हो ।
कार्यक्रम समापनमा बोल्दै नेपाल माझी महिला उत्थान सङ्घकी अध्यक्ष होम कुमारी माझी (सीजिका) ले प्रशिक्षार्थीहरूले सिकेका कुरा समुदायको लागि लाभदायक हुने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘७ दिवसीय तालिम सम्पन्न भएको छ, प्रशिक्षार्थीहरूले धेरै कुरा सिक्नुभएको छ र त्यो सिकाइले भोलिका दिनमा प्रतिफल पनि दिनेछ भन्नेमा म विश्वस्त छु ।’
साथै, उनले माझीहरूको महान् चाड लदी पूजा नेपाल सरकारको अभौतिक सम्पदामा सूचिकृत भएको सुसमाचार स्मरण गराउँदै यसमा माझी चलचित्रकर्मी सङ्घको पनि ठूलो भूमिका रहेको बताइन् ।

त्यसैगरी, कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डकी प्रतिनिधि अप्सरा समाल मगरले चलचित्र मनोरञ्जन मात्र नभएर आदिवासी जनजातिको भाषा धर्म संस्कार संस्कृति र पहिचान बचाइराख्ने एउटा माध्यम रहेको बताइन् ।
साथै, आदिवासी जनजातिको लागि नै बोर्डले हरेक वर्ष ५० लाख बजेट छुट्याउने पनि खुलाइन् । आगामी दिनमा माझी समुदायले आयोजना गरेको तालिममा समुदायकै प्रशिक्षक देख्न पाउने आफ्नो चाहाना रहेको पनि उनले बताइन् ।

माझी चलचित्रकर्मी सङ्घ स्थापना भएदेखि नै केही न केही काम गर्दै आइरहेको र आफू यो संस्थाको कामबाट निकै खुसी रहेको माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष चिनीमाया माझी बताउँछिन् ।
उनले भनिन्, ‘माझीको भाषा, संस्कार संस्कृति र पहिचान संरक्षण गर्न यो संस्थाको ठूलो भूमिका रहेको महशुस गरेकी छु र यसलाई निरन्तरता दिनको लागि पनि म शुभकामना दिन चाहन्छु । लदी पूजा सरकारको अभौतिक सम्पदाको सूचीमा पर्नुमा पनि माझी चलचित्रकर्मी सङ्घले बनाएको गीत, चलचित्र, भिडियो र डकुमेन्ट्रीले ठूलो भूमिका खेलेको छ ।’

त्यस्तै, लोप भइरहेको संस्कार संस्कृति भाषा र पहिचान बचाउने एउटा बलियो कडी चलचित्र पनि रहेको आदिवासी जनजाति चलचित्र महासङ्घकी कार्यवाहक अध्यक्ष भुईसल लामा बताउँछिन् ।
उनले सिकाइ कहिल्यै नसकिने र समयसँगैको सिकाइ व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिँदै प्रशिक्षार्थीहरूलाई शुभकामना दिइन् ।
‘चलचित्रबाट हामीले हाम्रो पहिचान र संस्कृतिको डिजिटल दस्तावेजीकरण गर्न सक्छौँ र आउँदो हाम्रो पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ । त्यसैले यो तालिम आवश्यक छ, भोलिका दिनहरूमा पनि भइरहनपर्छ’ उनले भनिन् ।

त्यसैगरी, कार्यक्रम सञ्चालन गर्न सजिलो नभएको र गुणस्तरीय चलचित्र निर्माण गर्न आफूहरूलाई सधैँ बजेट कम पर्ने माझी चलचित्रकर्मी सङ्घका अध्यक्ष विवश माझीको गुनासो छ ।
‘चलचित्र विकास बोर्डले बजेट छुट्याएकाले हामीले माझीको डकुमेन्ट्री, चलचित्र बनाउँछौँ तर हामीले प्रभावकारी र गुणस्तरीय चलचित्र बनाउन सकिरहेको अवस्था छैन । बजेट अलि समायोजन भए हामीलाई सजिलो हुने थियो’ उनले भने ।
कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।






