आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै आठपहरिया समुदायले सरकारलाई बुझाए ज्ञापन पत्र

काठमाडाैं । आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै धनकुटामा प्रदर्शन गरेका छन् । मंगलबार परम्परागत भेषभूषामा सजिएका उनीहरु आफ्ना माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर ज्ञापन पत्र बुझाए  ।

र्‍यालीपछि समुदायका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कामार्फत प्रधानमन्त्री बालेन शाह समक्ष ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा आठपहरियाको आफ्नै भाषा, मौलिक संस्कृति, परम्परा र सामाजिक संरचना हुँदाहुँदै पनि राज्यले हामीलाई अदृश्य बनाएको उल्लेख गरिएको छ ।

यस्तै राणाशासनका बेला धनकुटामा मारिएका रामलिहाङ आठपहरिया र रिदामा आठपहरियालाई पहिलो सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् । उनीहरूले राणा शासकहरुले भनेअनुसार दशैं मनाउन नमान्दा झुण्ड्याएर मारेको इतिहास छ ।

किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएका माग कुनै नयाँ होइनन् । २०५८ सालदेखि निरन्तर रुपमा सरकारसमक्ष आवाज उठाउँदै आएको भएपनि कुनै सुनुवाइ नभएपछि अहिले बनेको करिब दुईतिहाइको सरकारले सुनुवाइ गर्छ की भनेर पुन: ज्ञापन पत्र बुझाइएको अष्टमानले बताए ।

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको आठपहरिया समुदायको करिब ६ हजार जनसंख्या रहेको बताइन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top