काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको पनि बताए । उनले विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको रहेको पनि बताए ।
उनले उद्धार तथा सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली राजदूतावासमार्फत नियमित पहल भइरहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरी वर्गीकरण गरी निश्चित समयसीमाभित्र फर्छ्योट गरिने समेत बताए । आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रविधिमार्फत सञ्चालन गर्ने तयारी भइरहेको समेत मन्त्री यादवले बताए ।
उनले भने ‘वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्णरुपमा चनाखो छ । विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको विषयमा समेत मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ । अगामी साउनदेखि सबै वैदेशिक रोजगारसम्बन्धीको काम प्रविधिमार्फत हुनेगरी प्रविधि निर्माणको काम भइरहेको छ ।’
उनले विश्वभर रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।






