झापा । अति सिमान्तकृत माझी जातिले झापाको दकममा पहिलो पटक आफ्नै सामुदायिक भवन स्थापना गरेका छन् । दमक नगरपालिका र दाताहरुको सहयोगबाट सो भवन स्थापना गरिएको हो ।
भवन निर्माणपश्चात् दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भवनको उद्घाटन गरेका थिए । खासगरी पूर्वी पहाडको सप्तकोशी र सहायक नदि आसपास बसोवास गर्ने माझी जातिको भाषा तथा सँस्कृति लोप हुँदै जान थाले पछि एकजुट हुनका लागि आफ्नै जातीय भवन निर्माण गरेको दमक नगरपालिकाका अध्यक्ष बलबहादुर माझीले बताए ।
डुङगा चलाउने तथा माछा मार्ने मुख्य पेशा भएका माझी जातिहरुको भाषा तथा सँस्कृति भने देशको पहिचान भएकाले यसको संरक्षण र विकासमा जोड दिनु पर्ने नेपाल माझी उत्थान संघका केन्द्रिय उपाध्यक्ष कृष्ण माझीले बताए । दमक नगरमा बसोबास गर्ने ६ सय ५० जनसंख्याको सक्रीयतामा झण्डै १५ लाख खर्च भवन निर्माणका लागि उठेको थियो ।
२०७८ सालको जनगणना अनुसार देशभर १ लाख ११ हजार ३ सय ५२ जन संख्या मध्ये २९ प्रतिशतले मात्र आफ्नो भाषा बोल्ने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।






